मनिता कोइराला र विजय नेपाल (इमेज)
रसुवा, सिन्धुपाल्चोक, माघ १४ । छिमेकी मुलुक चीनमा देखिएको ‘कोरोनाभाइरस’को संक्रमण अरु देशमासमेत फैलिन थालेसँगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।
रोगको महामारी नफैलियोस् भनेर सरकारले सीमानाकामा ‘हेल्थ डेस्क’को स्थापना गरे पनि प्रभावकारी नहुँदा औपचारिकतामा मात्र सीमित बनेको देखिन्छ ।
कोरोनाभाइरसको संक्रमणबाट चीनमा मात्रै १०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
नेपालमा पनि चीनबाट आवत–जावत गर्नेहरुमार्फत् यो रोग फैलिनसक्ने जोखिम उच्च छ ।
चीनबाट नेपालमा दैनिक हजारौं पर्यटक ओहोर–दोहोर गर्ने भएकाले पनि यो भाइरस नेपालमा फैलिनसक्ने जोखिम उच्च रहेको देखिएको हो ।
यो रोगको महामारी नेपालमा नभित्रियोस् भनेर सरकारले सीमानाकामा हेल्थ डेस्कको स्थापना गरेको छ । तर, आवश्यक जनशक्ति र उपकरण नहुँदा महामारीकै निम्तो दिएजस्तै देखिएको हो ।
संक्रमण बढेपछि चीनबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ ।
अहेबको नेतृत्वमा स्थापना गरिएका हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण नभइ परामर्शको काममात्र भएको छ ।
आवश्यक दक्ष जनशक्ति र प्रयोगशाला नहुँदा स्वास्थ्य परीक्षण प्रभावकारी हुन नसकेको रसुवाका स्वास्थ्यकर्मी विजयकुमार घले बताउँछन् ।
रसुवागढी नाकाबाट दैनिक १५० को संख्यामा चिनियाँ पर्यटक भित्रिने गरेकोमा अहिले यो संख्या २० जनामा झरेको छ ।
उता, सिन्धुपाल्चोकको तातोपानी नाकामा भने अहिलेसम्म हेल्थ डेस्कको स्थापना हुनसकेको छैन ।
सो नाकाबाट चिनियाँ पर्यटकको आवागमन नभएपनि चालक र नेपाली कामदार भने यहीँबाटै आवत–जावत गरिरहेका छन् ।
ज्वरो, रुघाखोकीलगायतका समस्याको परीक्षण गर्नेगरी बिहीबारदेखि हेल्थ डेस्कको स्थापना गर्ने तयारी छ ।
यता, कोरोनाले फैलाएको भयावह स्थितिलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ ।
चीनबाट आउने सबै पर्यटकहरुमा यो समस्या छ कि छैन भन्ने परीक्षण गर्न ‘थर्मल स्क्यानिङ’ राखिएको छ ।
यो भाइरस चीनसहित जापान, कोरिया, अमेरिका र थाइल्यान्डमा फैलिसकेको छ ।
नेपालमा पनि यसको महामारी फैलिन नदिन सीमानाकामा राखिएका हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउँदै आमजनतामा सचेतना जगाउन आवश्यक छ ।








प्रतिक्रिया दिनुहोस्