
काठमाडौं । आज(आइतबार) ६७ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कुष्ठरोग र कुष्ठरोगी भन्ने वित्तिकै कतिपयले नाक पनि खुम्च्याउँछन् । तर यो रोग उपचार गरेपछि पूर्ण रुपमा निको हुन्छ ।
उपचारपछि सञ्चो भएर समाजमा उदाहरणीय काम गर्ने व्यक्तिहरुको संख्या पनि धेरै छ ।
सप्तरी घर भएका वाशुदेव यादवलाई १२ वर्षको उमेरमा कुष्ठरोग लाग्यो । शुरुमा रोग पत्ता नलागेपछि वाशुदेव काठमाडौ आए ।
ललितपुरको आनन्द वन अस्पतालमा उनको हात खुट्टामा भएको घाउको शल्यक्रिया गरियो । उपचारको १ बर्षपछि उनको रोग निको भयो । तर कुष्ठरोगी भन्दै समाजले उनलाई सहजै स्वीकार गरेन ।
जीवनमा अनकौ अपहेलना सहनु पर्यो । समाजले गरेको अपहेलनालाई शक्तिमा बदल्ने दृढ दृढ अठोट लिएका वाशुदेवको त्यसपछिको यात्रा नेपाली कागज बनाउने उद्योगतर्फ मोडियो ।
कामप्रतिको लगनशीलता र निरन्तरको मेहेनतले उनी आफ्नै नेपाली कागज उद्योग खोल्न सक्षम भए । वाशुदेवको उद्योगमा अहिले १० जना कुष्ठरोग पीडितले रोजगारी पाएका छन् ।
कुष्ठरोगलाई जितेर जीवन सहजरुपमा बिताउने अर्का उदाहरण बनेका छन् भोजपुरका दिपक तिवारी । उनलाई पनि १६ बर्षको उमेरमा नै कुष्ठरोग लागेको थियो ।
उपचार पछि हाल दिपक राष्ट्रिय कुष्ठरोग प्रभावित संघको अध्यक्षको रुपमा ४५ वटा कुष्ठरोग प्रभावित परिवारलाई सहयोग पु¥याउदै आएका छन् । तर सरकारले कुष्ठरोग प्रभावितहरुलाई पुनः स्थापना गर्न सहयोग नपु¥याएको उनको गुनासो छ ।
यी प्रतिनिधि पात्रहरु, जो आफ्नो अलग्गै पहिचानका साथ समाजमा खुलेर आएका छन् । उनीहरुबाट प्रष्ट हुन्छ कुष्ठरोग लाग्नु नै जीवनको अन्त्य होइन । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुले लाग्ने ज्यादै कम सर्ने रोग हो । १७ जिल्लामा ३ हजार २ सय ८२ नया कुष्ठरोगी भेटिएका छन् ।
यो संख्या सबै भन्दा बढी झापा ,मोरङ् र उदयपुर जिल्लामा बढी देखिन्छ । यस्तै चितवन र काठमाडौमा पनि कुष्ठरोगीहरुको संख्या बढी भेटिएको छ ।
आँखा, खुट्टा र हातमा बढी असर गर्ने कुष्ठरोगको नियमित औषधी सेवन गर्ने हो भने अगं भङ्ग हुनबाट बच्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कुष्ठरोग नियन्त्रण शाखाका डा. उत्तम घिमिरेले जानकारी दिए ।
मुलुकी देवानी संहिताले कुष्ठरोग भएका व्यक्तिसँग विवाह गर्न गराउन नहुने प्रावधान राखेकोप्रति कुष्ठरोगीहरुले विरोध जनाएका छन् ।
कुष्ठरोग कुनै देवी देवताको श्रापबाट भएको पनि होइन । अरु रोग जस्तै यो पनि एक प्रकारको रोग हो र उपचार पछि निको हुन्छ । यसैले समाजले कुष्ठरोगीहरुप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्