
काठमाडौं, माघ १ । विश्व बैंकले नेपालका लागि २ सय मिलियन डलर अर्थात् (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ ।
विश्व बैकको बोर्ड अफ डाइरेक्टरको बैठकले भूकम्पले भत्काएका निजी घरको पुनर्निर्माण परियोजनाका लागि उक्त ऋण सहायता स्वीकृत गरिएको बैंकले जनाएको छ ।
बैंकले नेपालमा अर्थक्वीक हाउजिङ रिकन्स्ट्रक्सन्स प्रोजेक्ट (ईएचआरपी) संचालन गरिरहेको र उक्त रकम पुनर्निर्माण गर्न बाँकी घर बनाउनका लािग प्रयोग गरिने जनाएको हो ।
परियोजनाको दोस्रो चरणको कामका लागि प्राप्त हुने ऋण सहायता २०७२ सालको गोर्खा भूकम्पबाट क्षति भएका थप ८६ हजार ६८० निजी घर पुनर्निर्माणका लागि यो रकम खर्च गरिने छ ।
बैंकका अनुसार यो रकम भूकम्पबाट अति प्रभावित ३२ जिल्लाका भूकम्प पीडितको घर पुनर्निर्माणमा खर्चिने छ । बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घर पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।
सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको पनि बैंकले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्