काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोभिड– १९ को नयाँ संक्रमण पत्ता लगाउन जिन (आनुवांशिक) सिक्वेन्सिङ मेसिन ल्याएको छ । लामो प्रयासपछि उपकरण आए पनि जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति भने छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा. रुणा झाले जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति अहिले नभएको बताइन् । ‘हामीसँग जिन सिक्वेन्सिङ गर्न सक्ने जनशक्ति छैन,’ निर्देशक डा. झाले भनिन्, ‘बाहिर पनि नगन्य मात्रै जनशक्ति छ । यो सेवाका लागि जनशक्ति हायर गर्नुपर्ने हुन्छ ।’
कोरोना भाइरस कुन देशबाट आयो, नेपालमा देखिएको भाइरस अन्य देशसँग मिल्छ–मिल्दैन, भाइरसमा के–के फरक छ, लक्षण मिल्छ–मिल्दैन भन्ने जानकारी लिन कोरोना संक्रमितको जिन सिक्वेन्सिङ गरिन्छ ।
विश्वमा कोभिडको नयाँ प्रजाति देखिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा जिन सिक्वेन्सिङ मेसिन केन्द्रीय प्रयोगशाला टेकुमा ल्याइएको हो । भन्सारमा रहेको मेसिङ एक–दुई दिनमै जडान गर्ने तयारी छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार भाइरसको प्रकृतिमा आएको परिवर्तन हेर्न तथा कस्तो खालको खोप नेपाललाई सुहाउँछ भन्ने थाहा पाउन नियमित अध्ययन आवश्यक पर्ने भएकाले मेसिन ल्याइएको हो ।
नेपालिज सोसाइटी फर माइक्रोबायोलोजीका अध्यक्ष डा. प्रकाश घिमिरेले पनि नेपालमा जिन सिक्वेन्सिङ गर्ने जनशक्ति नगन्य भएको बताए । ‘भएका जनशक्ति पनि विभिन्न प्रोजेक्टमा आबद्ध छन्,’ डा. घिमिरेले भने, ‘सरकारी प्रयोगशालामा यस्तो जनशक्ति नभएकाले उपकरण सञ्चालन गर्न कठिन छ । राज्यले तत्काल दरबन्दी सिर्जना गरी सम्बन्धित जनशक्तिको खोजी थाल्नुपर्छ ।’
जिन सिक्वेन्सिङ गर्न माइक्रोबायोलोजिस्ट अर्थात् भाइरोलोजिस्ट, मलिक्युलर बायोलोजी र बायोइन्फम्र्याटिक्सको पूर्ण ज्ञान भएको व्यक्ति चाहिन्छ । घिमिरेका अनुसार एक जिन सिक्वेन्सिङ मेसिन सञ्चालन गर्न सूक्ष्मजीव विज्ञान, विषाणु विज्ञान, माइक्रोबायोलोजिस्ट अर्थात् भाइरोलोजिस्ट, मलिक्युलर बायोलोजी र बायोइन्फम्र्याटिक्स गरी पाँचजनाको टिम आवश्यक पर्छ । कहिलेकाहीँ एउटै व्यक्तिमा तीनवटै ज्ञान हुन्छ । तर, त्यो ज्यादै कममा मात्रै हुने विशेषज्ञहरू बताउँछन् ।
नेपालमा जिन सिक्वेन्सिङ गर्ने मेसिन पाँचवटा पुगिसकेका छन् । त्रिभुवन विश्वविद्यालय र धुलिखेल अस्पतालले हालै किनेका छन् । विधिविज्ञान प्रयोगशाला र वीर अस्पतालमा पुरानै मेसिन सञ्चालनमा छन् ।
नेपालमा जिन सिक्वेन्सिङ परीक्षण नहुने भएकाले अहिले पनि भाइरसको प्रजाति पत्ता लगाउन नमुना हङकङ पठाउने गरिएको छ । नेपालबाहिर परीक्षण गर्दा विश्व स्वास्थ्य संगठनले त्यसको खर्च व्यहोर्दै आएको छ । ‘अब नेपालमा परीक्षण गर्दा आफैँले खर्च गर्नुपर्ने हुन्छ,’ निर्देशक डा. झाले भनिन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झाले एउटा स्याम्पलको सिक्वेन्सिङ गर्न ७० हजारसम्म पर्ने बताइन् । ‘केन्द्रीय प्रयोगशालामा अहिले आएको मेसिनले एकपटकमा ९६ नमुनाको सिक्वेन्सिङ गर्न सक्छ,’ निर्देशक डा. झाले भनिन्, ‘एकपटकमा ९६ नमुनाको सिक्वेन्सिङ गर्न पाएको खण्डमा प्रतिनमुना सात हजार पर्न जान्छ । तर, एक–दुईवटा मात्रै नमुनाको सिक्वेन्सिङ गर्दा निकै महँगो पर्छ ।’ निर्देशक डा. झाका अनुसार डब्लुएचओले प्रतिनमुना पाँच सय डलर तिर्छ । यत्रो खर्च नेपाल सरकारले व्यहोर्छ– व्यहोर्दैन भन्नेमा विज्ञ सशंकित छन् ।
‘अहिले पाँचवटा जिन सिक्वेन्सिङ गर्ने मेसिन जडान भएका छन्,’ डा. घिमिरे भन्छन्, ‘एउटा मात्रै मेसिनले नेपालका सबै भाइरसको परीक्षण गर्न सक्छन् । तर, यसका लागि जनशक्ति र किट आवश्यक पर्छ ।’ एउटा मेसिनको मात्रै एक करोड रुपैयाँ पर्छ । सिक्वेन्सिङ गर्न चाहिने रिएजेन्टलाई २० हजारभन्दा माथि पर्छ । नयाँ पत्रिका










प्रतिक्रिया दिनुहोस्