Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अपाङ्ग व्यक्तिहरूको समाचार र सूचना सम्प्रेषणमा सजगता अपनाउन आग्रह


0
Shares

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूसँग सम्बन्धित समाचार तथा सूचना सम्प्रेषणमा सञ्चार माध्यमहरूले सजगता अपनाउन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

नेपाल प्रेस काउन्सिल र नेपाल अपाङ्गता मानव अधिकार केन्द्रले आयोजना गरेको कार्यक्रमका सहभागीहरूले अपाङ्गमैत्री सञ्चार निर्देशिका २०७३ को पालना नभएको गुनासो गरे ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको अनुरोधमा नेपाल प्रेस काउन्सिलले जारी गरेको उक्त निर्देशिकामा समाचार सम्प्रेषण, कार्यक्रम निर्माण र विज्ञापनमा समेत अपाङ्गता भएका व्यक्ति र समुदायलाई होच्याउने खालका शव्द, अभिनय वा अभिव्यक्ति दिन नपाइने उल्लेख गरिएको छ ।

त्यस्ता अभिव्यक्ति पत्रकार आचार संहिता विपरीत हुने भन्दै कार्यक्रममा केन्द्रका अध्यक्ष जगदीश प्रसाद अधिकारी र प्रेस काउन्सिल नेपालका प्रमुख कार्यकारी अधिकृत झविन्द्र भुषालले आचार संहितामा प्रयोग गर्ने गरिएको र गर्नुपर्ने विभिन्न शब्द तथा अभिव्यक्तिबारे जानकारी दिनु भएको थियो ।

त्यस अवसरमा प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष गोपाल वुढाथोकी, मिडिया एलाइन्सका महासचिव लक्ष्मण हुमागाईं, सम्पादकहरू तीर्थ कोइराला, कपिल काफ्ले, दिपक पाण्डे तथा पत्रकार ऋषि धमलाले अपाङ्गता भएका व्यक्तिहरूमाथि प्रयोग गरिने शब्दमा ध्यान दिइने बताउनुभयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको मर्म र भावनामा आँच पुग्ने खालका शब्दको अभिव्यक्ति नगर्न, उनीहरू विभिन्न कारणले आपाङ्ग हुन पुगेको संवेदनशीलतालाई ध्यान दिन तथा उनीहरूलाई समाजको दया र संवेदना भन्दा पनि सम्मानको आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।