Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


जानकारी गराएर हिमाल आरोहण गरे सरकारले सहयोग गर्ने : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, माघ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताउनुभएको छ ।

विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू को हिउँदमा आरोहण गरी कीर्तिमान रचेर मंगलबार स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने आश्वासन दिनुभएको हो ।

उहाँले माउन्ट केटूको सफलतापूर्वक आरोहण गरेर नेपाली आरोहीले देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताउनुभयो ।

अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उहाँको भनाई छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमप्रति आगामी दिनमा राज्य बेखबर नहुने बताउनुभयो ।

वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उहाँको भनाई छ ।

माउन्ट केटू का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताउनुभयो ।

माउन्ट केटू आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उहाँको भनाई छ ।

दशजनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट केटू हिमालको सफल आरोहण गरेको थियो ।

आरोही टोली मंगलबार नेपाल फर्किएको हो ।