Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


सुकुम्वासीलाई जग्गा उपलब्ध गराइदिने भन्दै रकम उठाउने आठ पक्राउ


0
Shares

कास्की । आफूहरु सुकुम्वासी समस्या समाधान आयोगको गण्डकी प्रदेश पदाधिकारी रहेको र जग्गा उपलब्ध गराइदिने झुटा व्यहोरा देखाइ ठगी गरेको अभियोगमा प्रहरीले पोखराबाट आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माछापुुच्छे गाउँपालिका–९ सिदिङ घर भई हाल पोखरा–५ बस्ने ३९ वर्षीय हीराबहादुुर तामाङ, म्याग्दीको रघुगङ्गा–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार, रुपन्देही सैनामैना–४ घर भई हाल पोखरा बस्ने ३५ वर्षीय ओमबहादुर सुनार, सिन्धुपाल्चोक घर भएकी ३७ वर्षीया रीता विश्वकर्मा र पोखरा–१७ का २२ वर्षीय सोनु परियार रहेका छन् ।

त्यसैगरी पोखरा–१३ का ३७ वर्षीया सीता सुनार, सोही ठाउँका ५० वर्षीय हर्र्कबहादुर विक र २४ वर्षीय मौसम सदाशङ्करलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उनीहरुले असोज २५ गते साँझ पोखरा महानगरपालिका–१४ भोटेचौैतारा सुकुम्वासी बस्तीमा मानिस भेला गरी सोही ठाउँको तीन सय रोपनी क्षेत्रफल जमिनमा घर जग्गा उपलब्ध गराइदिने विश्वास दिलाएको र तत्कालै फिल्डमा उक्त जमिनमा अमिन लगेर नापजाँच गर्ने भनी रकम उठाएको सूचना प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जीवनकुुमार श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट नगद एक लाख ६१ हजारसहित नगदी रसिद प्याडहरु, प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, पासपोर्ट साइजको फोटो, विभिन्न मितिमा बैठक बसी गरिएका निर्णय रजिष्टर एक थान, नगद उठाएको रजिष्टर एक थान तथा सुकुम्वासी समस्या समाधान आयोग गण्डकी गठन भएको पत्र एक थान बरामद गरिएको बताइन्छ ।

उनीहरुलाई मुलुकी अपराधसंहिताअनुसार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्टसन) सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।