Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता


0
Shares

स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको हाम्रा संवाददाता सागर न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

अहिलेसम्म तीन महिला र दुई पुरुषको शव निकालिएको छ । अन्य चार जना अझै बेपत्ता छन् ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयले बिहानैदेखि उद्दार कार्यलाई जारी राखेका छन् ।

माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।