२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१० वर्षअघि यात्रीवाहक बसमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, वैशाख १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर–२ कमिटीका एक सदस्यसहित दुईजना बुधबार पक्राउ परेका छन् ।

१० वर्षअघि एउटा यात्रीवहाक बसमा बम विस्फोट गराएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले रौतहटको ईशनाथ नगरपालिका, रामपुरखाप निवासी नेकपा प्रदेश–२ कमिटी सदस्य शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्रेको हो ।

गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना२ख ५७२१ नम्बरको यात्रीवाहक बसमा २०६७ साल चैत ११ गते बम विस्फोट गराएर १३ जना घाइते बनाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

उक्त समयमा उनीहरु दुवैजना तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चामा आबद्ध रहेका थिए । बम विस्फोटको जिम्मा सोही समूहले लिएको थियो ।

पक्राउ परेका दुवैजनाविरुद्ध ज्यानमार्ने उद्योग तथा विस्फोटक पदार्थसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेको छ ।

प्रहरी उपरीक्षक रबीराज खड्काले दुवैजनालाई ईशनाथ नगरपालिका, रामपुरखापबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।