१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


तस्करीको सुन भागबन्डा अभियोग : चार महिना हिरासतमा राखेपछि १२ प्रहरी निर्दोष


0
Shares

काठमाडौं । तस्करीको सुन भागबन्डा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब चार महिना हिरासतमा राखेका १२ प्रहरी निर्दोष देखिएका छन् ।

गत फागुनदेखि अख्तियारको हिरासतमा रहेका १६ मध्ये चारजनाको मात्रै संलग्नता देखिएको छ ।

शंकाकै आधारमा सानो मुद्दामा यसरी लामो समय हिरासतमा राख्ने प्रवृत्तिले अख्तियारको अनुसन्धान प्रणालीमाथि प्रश्न उठाएको छ ।

अख्तियारले रसुवास्थित सीमा प्रहरी कार्यालय, टिमुरेका तत्कालीन इन्स्पेक्टर खेम नेपालसहित चारजनाविरुद्ध ५ असारमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अन्य १२ जना प्रहरीलाई मुद्दा चलाउन सक्ने प्रमाण नभएको भन्दै अख्तियारले छाड्ने निर्णय गरेको हो ।

तस्करीको सुन लुकाउने घटनामा प्रत्यक्ष संलग्नता नदेखिएपछि १२ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । उनीहरू ५ असारमा हिरासतबाट छुटेका छन् ।

गत १४ फागुनदेखि अख्यितारले इन्स्पेक्टर नेपालसहित सइ भोजबहादुर सेन वली, असइ रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ, जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रिता चौधरी, मनोज आले, छेक्यु डोल्पा मोक्तान र ताराबहादुर प्रजा तथा कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई निलम्बन गरी हिरासतमा लिएको थियो । उनीहरू सबैले तस्करीकोे सुन लिएको अख्तियारको आशंका थियो । नयाँ पत्रिका दैनिकबाट