Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


आइएसले रुसलाई दियो हमलाको चेतावनी– ‘रुसमै आएर हमला गर्छौं’


0
Shares

सिरिया, साउन १८ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) समर्थित लडाकुले रुसलाई चेतावनी दिएका छन् । एक भिडियो सन्देशमार्फत रुसलाई चेतावनी दिदैं भनिएको छ, ‘अब तिमीहरुको पालो आएको छ, हामी रुसमै आएर हमला गर्छौं ।’

करिब नौ मिनेट लामो भिडियोमा जेहादीलाई पनि हमलाका लागि तयार रहन अपिल गरिएको छ । आइएसले भने सो भिडियोका बारेमा केही टिप्पणी गरेको छैन । तर विगतमा आइएसले जारी गरेकै शैलीमा भिडियो सार्वजनिक गरिएका कारण सो भिडियो आइएसकै संलग्नतामा तयार पारिएको अनुमान गरिएको छ ।

केही अघि यस्तै धम्की आइएसले युरोपेली मुलुकलाई दिएको थियो ।

भिडियोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्बोधन गर्दै भनिएको छ, ‘हामी चाँडै रुसमा आउँदै छौं, तिमीहरुलाई तिमीहरुकै घरमा हमला गर्छौं ।’

सिरियामा रुसी लडाकु विमानले हमला गर्दै आएको सन्दर्भमा आइएसले बदलास्वरुप रुसमाथि हमला गर्ने योजना बनाएको अनुमान गरिएको छ । (एजेन्सी)