
काठमाडौं, मंसिर २८ । राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘अकल्पनीय अक्षम गल्ती’ गरेको भन्दै क्षतिपूर्तिबापत ६ करोड रुपैयाँ माग दाबी गरेको छ ।
एसियाली फुटबल महासंघको कार्यक्रमअनुसार एएफसी कप क्लब फुटबलको समूह चरणको च्याम्पियन भएर प्लेअफमा छनोट भएको अवस्थामा एन्फाको कमजोरीले प्लेअफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै थ्रीस्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ति मागेको हो ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले पटक–पटक ताकेता गर्दासमेत बेवास्ता गरेका कारण नेपालको प्रतिनिधित्व नै गुमाउने ‘गद्दारी’ एन्फाले गरेको क्लबका प्रतिनिधिले आरोप लगाए ।
थ्रीस्टारका महासचिव सन्जीव शिल्पकारले च्याम्पियनले जित्ने १० करोड रुपैयाँको आशालाई बन्चित गरेर एन्फाले देशको इज्जतमाथि नै खेलवाड गरेकाले ६ करोड रुपैयाँ दाबी गरिएको बताए ।
प्लेअफ विजेताले पाउने एक करोड तथा उपविजेतासम्म बन्ने सूवर्ण अवसर रहेकाले त्यसबापतको पाँच करोड गरी थ्रीस्टारले ६ करोड माग गरेको हो ।
थ्रीस्टारले मंगोलियामा भएको एएफसी कपको समूह चरण पार गर्दा ७० लाखभन्दा बढी रुपैयाँ खर्च भएकोसमेत जनाएको छ ।
एएफसीले चार पटकसम्म प्लेअफ सहभागिताका लागि क्लब दर्ता गर्न पत्राचार गरे पनि एन्फाले त्यसलाई बेवास्ता गरेको थ्रीस्टार पदाधिकारीको आरोप छ । एन्फाले क्लबलाईसमेत कुनै जानकारी नगराएको थ्रीस्टारले बताएको छ ।
एन्फाले सिंगो नेपाली फुटबलमाथि कुठाराघात गरेको भन्दै थ्रीस्टारले दोषीमाथि सत्यतथ्य छानबिन गरी कारबाहीका लागि सरकारसँग अपिलसमेत गरेको छ ।
एन्फाले सचिवालयको गल्तीका कारण भएको घटनाका लागि गत मंसिर २४ गते नै थ्रीस्टारसँग माफी माग्दै अनुसन्धानका लागि एन्फा उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमेत बनाएको छ ।
थ्रीस्टार महासचिव शिल्पकारले गल्ती भएको हो भनेर एन्फाले स्वीकार गरिसकेपछि छानबिन हैन कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले आफूहरुले न्याय नपाएसम्म क्लबले कुनैपनि प्रतियोगितामा भाग नलिने निर्णय गरेकोसमेत बताए ।
प्रतिक्रिया दिनुहोस्