३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेपाल ओलम्पिक कमिटिको साधारण सभा स्थगित


0
Shares

काठमाडौं, मंसिर ३० । नेपाल ओलम्पिक कमिटिको बिहीबार हुने भनिएको वार्षिक साधारण सभा रोकिएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गराउन भन्दै ललितपुर प्रहरीले बुधबार बेलुकीबाट सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको भवन नियन्त्रणमा लिएपछि साधारणसभा रोकिएको हो ।

बुधबार वेलुकी ९ वजेदेखि प्रहरीले ओलम्पिक परिसरमा विशेष निगरानी गरिरहेको छ । यसअघि हिजो साँझ ५ वजे ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पालाई जिल्ला प्रशाशन कार्यालयमा बोलाएर ओलम्पिकको वैधनिकता र सर्वोच्चको फैसला कार्यान्यवनबारे जानकारी गराईएको थियो ।

त्यसलगत्तै ओलम्पिक कमिटिले आजका लागि तय गरेको साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो । नेपाल ओलम्पिक कमिटीको वैधानिकताको विषयमा २०६५ सालमा पहिलो पल्ट सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो ।

उक्त मुद्धाको फैसला तीन वर्षअघि भए पनि कार्यान्वयन हुन सकेको थिएन । सर्वोच्च अदालतले वैधानिकताको मुद्धामा नेपालमा रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटी मात्र वैधानिक भएको फैसला सुनाएको थियो ।

तीन वर्षअघि आफूले गरेको निर्णय कार्यान्वयन नभएको भन्दै सर्वोच्चको फैसला महानिर्देशनालयले गत सोमबार गृहमन्त्रालयलाई फैसला कार्यान्वयन गराउन आदेश दिएपछि प्रहरी प्रशासन तातेको हो ।