२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पूर्वी पहाडी जिल्लामा हिमपात, काठमाडौंमा वर्षापछि चिसो बढ्यो


0
Shares

ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ ।

शनिबार दिउँसो परेको वर्षापछि माथिल्लो क्षेत्रमा हिमपात भएको पूर्वी क्षेत्रिय हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, ग्याब्लालगायतका स्थानको जनजीवन प्रभावित बनेको छ ।

त्यसैगरी प्रसिद्ध तिर्थस्थल पाथिभरामा पनि सामान्य हिमपात भएको स्थानीयबासिन्दा ईन्द्रनारायण भट्टराईले बताए ।

वर्षापछिको हिमपातसँगै माथिल्लो क्षेत्रका बस्तीमा अत्यधिक चिसो बढेको स्थानीयले बताएका छन् । यसैबीच दोलखाको जिरी आसपासका क्षेत्रमा पनि हिमपात भएको छ ।

जिरी बजारभन्दा माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भए पनि शनिबारदेखि पटासे ठूलोढुंगा, काप्ती, हनुमान्तेलगायतका क्षेत्रमा हिमपात भएको छ ।

त्यस्तै रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ ।

हिउँद लागे यता लामो समयपछि वर्षा हुँदा तल्लो क्षेत्रका कृषकलाई भने कृषि उत्पादनमा राहत मिलेको छ ।

यसैगरी काठमाडौंमा पनि सामान्य वर्षा भएसँगै चिसो बढेको छ । आज पनि सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।