
पर्सा, फागुन २५ । नेपाली उद्योगपति सुरेश केडिया अपहरणको ‘मुख्य योजनाकार’लाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत, विहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
वि.सं. २०७३ जेठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए ।
केडिया अपहरणका मुख्य योजनाकार पासवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
उनले सीमापारिबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५, भिष्वामा कारबाही गर्दा पासवन र महतो फेलापरेको बताए ।
पक्राउ परेका पासवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, संगठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारबाहीका लागि दुवै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले सन्चारकर्मीलाई जानकारी दिए ।
प्रहरी नियन्त्रणमा रहेका पासवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरिद गर्न नेपाल आउनेक्रममा पक्राउ परिएको बताए ।
अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्