
नवीनराज कुइँकेल (इमेज)
लमजुङ, फागुन २४ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, पामचोक गाउँमा एक ‘सन्की’ युवाले चिर्पट प्रहार गर्दा सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
शुक्रबार सेग्ले गाउँका ३० वर्षीय रामबहादुर विश्वकर्माले चिर्पट प्रहार गरेका हुन् ।
चिर्पट प्रहारबाट गम्भीर घाइते हुनेमा ५० वर्षीय गोपाल भण्डारी, उनकी श्रीमती ५० वर्षीया लक्ष्मी भण्डारी, ६९ वर्षीय बुद्धिबहादुर थापा, ६० वर्षीया रेखु भण्डारी र ३० वर्षीया सोविता खड्का रहेका छन् ।
गम्भीर घाइतेहरुलाई लमजुङ सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ ।
घाइते पुष्पा बास्तोलाको गाउँमै सामान्य उपचार गरिएको छ ।
घाइतेहरु सबैको टाउकोमा गम्भीर चोट लागेको छ ।
विश्वकर्माले खर्पेटा, पामचोक, बन्थोक गाउँका मानिसलाई चिर्पट हानेका थिए ।
उनलाई प्रहरी, स्थानीय बासिन्दा र गाउँपालिकाका पदाधिकारीहरु मिलेर वडा नम्बर–३ को खुदी, तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरीचौकीका सइ अर्जुन केसीले जानकारी दिए ।
घटनाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्