
परासी, फागुन २४ । पश्चिम नवलपरासीका विभिन्न नाकाबाट तस्करी बढ्दै गएको छ । भारतबाट नेपालतर्फ आउने र नेपालबाट भारततर्फ जाने विभिन्न सामाग्रीहरुको तस्करी बढ्दै गएको स्वयं भन्सारकै कर्मचारीले स्वीकारेका छन् ।
नेपालसँग सीमाना जोडिएका महेशपुर, बिष्णुपुरा, भूजहवा, गुठिप्रसौनीलगायतका नाकाबाट दुवै देशतर्फ सामानहरुको तस्करी हुने गरेको छ । तस्करी कार्यमा सुरक्षाकर्मीकै मिलमतो हुने गरेकाले राजस्व संकलन प्रभावित भएको भन्सार कार्यालयले जनाएको छ ।
नवलपरासीमा पछिल्लो पटक नेपालबाट मटर, मरिच र सुपारी भारततर्फ तस्करी हुने गरेको छ भने भारतबाट आउने लत्ता कपडा, मेसिनरी सामान र कुखुराका चल्ला नेपालतर्फ तस्करी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
सीमा नाकाबाट दैनिक २ देखि ३ ट्रकसम्म भारततर्फ मटर तस्करी हुने गरेको बताइएको छ । वीरगन्ज र भैरहवाबाट ल्याइने मटरलाई व्यवसायीले नाकाहरुमा गोदाम बनाएर राख्ने गरेका छन् । सोही गोदामबाट साइकल र मोटरसाइकलमा राखेर मटर, सुपारी र मरिच भारततर्फ पठाउने गरिएको छ ।
तस्करी कार्यमा स्थानीय तहका केही जनप्रतिनिधिको पनि संलग्नता रहेको आरोप छ । सीमा नाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका सीमा चौकी, पोष्ट र विभिन्न स्थानमा चेक पोष्टहरु राखिएको र दुवै सुरक्षा निकायले सवारीसाधन र पैदल गस्ती परिचालन गरेको जनाएका छन् । तर तस्करी कार्यमा भने कमी आउने सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो पटक नाकाहरुमा मटर तस्करी बढेको गुनासो आएपछि निगरानी बढाइएको बताए । प्रमुख नाकाभन्दा पनि सहायक र गल्लीजस्तो बाटोबाट तस्करी हुने गरेकाले त्यसतर्फ पनि निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्