Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


झुटो आपराधिक घटना तयार पार्ने पक्राउ


0
Shares

काठमाडौं, माघ १७ । ‘बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो’ भनेर झुटो आपराधिक घटना तयार गरी लाखौं रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।

काठमाडौंको गोंगबुमा रहेको रियल टाइगर टुर्स एन्ड ट्राभल्सबाट रु ८ लाख १५ हजार बैंकमा जम्मा गर्न पठाइएका स्याङ्जा, गल्याङ नगरपालिका–११ घर भइ हाल काठमाडौं, धापासी बस्दै आएका तीलकराम अधिकारीलाई पक्राउ गरिएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए ।

ट्राभल्सबाट डेजिना बस्नेतले बैंकमा जम्मा गर्न बुधबार उक्त रकम पठाएकामा लाजिम्पाटबाट केही व्यक्तिले बन्दुक देखाइ केही चिज सुँघाएर बेहोस पारी रकम लुटेर फरार रहेको भन्ने जानकारी आएपछि अनुसन्धान गर्दा अधिकारीले झुटो विवरण पेस गरी मिलेमतोमा रकम लिएको पत्ता लागेको सिंहले जानकारी दिए ।

महाशाखाको टोलीले अधिकारीसँग गरेको अनुसन्धानकाक्रममा उनले साथी अमृत डुम्रेको सामाखुसीस्थित कोठामा उक्त रकम लुकाएको अवस्थामा भेटिएको थियो ।

अधिकारी र डुम्रे मिलेर बेहोस बनाउने क्लोरोफर्म एकार्कालाई सुँघाएर बनावटी आपराधिक घटना बनाइ रकम लिने नियत देखिएको प्रहरीको भनाइ छ ।

सो घटनामा संलग्न अधिकारीलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको र डुम्रे फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस