Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


विमानस्थल भन्सारका श्रेष्ठविरुद्ध १४ करोड बढी गैरकानुनी सम्पत्ति जोडेको अभियोगमा मुद्दा


0
Shares

काठमाडौं, माघ १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत् रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले गैरकानुनीरूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ ।

विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानकाक्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमासमेत छन् ।

अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुवा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानांग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममासमेत लुकाएको पाइएकाले उनीहरूविरुद्धसमेत मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरूको नाममा रहेको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालकाअनुसार श्रेष्ठको २०५३ साल चैत ५ देखि अनुसन्धान अवधिसम्म पारिश्रमिक बचत रु १८ लाख १६ हजार ९४८, सगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा रु तीन करोड ४७ लाख ७६ हजार ४३९ रहेको छ ।

यस्तै, परिवारका अन्य सदस्यले गरेको वैधानिक आम्दानी रु ९ करोड ६३ लाख ८ हजार ८२८ रहेको छ ।

यस्तै, श्रेष्ठको खर्च तथा लगानीतर्फ रु १९ करोड ७४ लाख ५५ हजार ८१६ रहेको छ ।

कुल आम्दानी रु ९ करोड ६३ लाख ८ हजार ८२८ रहेको भएपनि रु १० करोड ११ लाख ४६ हजार ९८८ तथा स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको रु चार करोड ४९ लाख ७७ हजार ४९० समेत अवैध रहेको पाइएको छ ।

दुवै रकम जोड्दा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ ।

गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको र बदनीयतसाथ राखेको देखिन आएकाले आयोगले स्रोत नखुलेको चल–अचल सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । रासस