Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


अपहृत बालिकाको सकुशल उद्धार


0
Shares

काठमाडौं, माघ ११ । प्रसुतिगृहमा कार्यरत् चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको शुक्रबार करिब ८ घन्टापछि सकुशल उद्धार गरिएको छ ।

बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जानेबित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेलापारेको हो ।

‘बिहान ९ बजेतिर घटनाकोबारेमा जानकारी आयो । तत्कालै सादा पोसाकसहितका प्रहरी खटायौं’–प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने–‘अपराह्न ४ बजे तिलगंगाबाट बालिका सकुशल फेलापर्‍यो ।’

अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको उनले जानकारी दिए ।

बबिताले घरमा छोरा र एकजना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करिब ९ बजेतिर छोरी हराएको खबर आएको राससलाई बताइन् । घटना ८ः३० बजेतिरको भएको प्रहरीको अनुमान छ ।

उनले तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि प्रहरी परिचालन भएको थियो ।

तत्कालै नम्बर र मान्छे पहिचान भएपछि बच्चा खोज्न सहज भएको प्रहरीले जनाएको छ ।

अपहरणकारी सुरुमा जोरपाटीमा भएको थाहा भयो । त्यसपछि जम्बुडाँडा हुँदै तिलगंगामा ‘लोकेसन ट्रयाक’ भएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटीले जानकारी दिए ।

तिलगंगा क्षेत्रलाई ४० सादा पोसाकका प्रहरीसहितको टोलीले चारैतर्फबाट घेरेपछि अपहरणकारीले बच्चा छाडेर भागेको बोगटीले बताए ।

बच्चालाई यहाँस्थित गणेश होटलअगाडि फेलापारिएको थियो ।

प्रहरीकाअनुसार जनकपुरमा रहेका उनका आफन्तबाट अपहरणकारीका परिवारले साढे दुई लाख रकम बुझेको जानकारीमा आएको छ ।

रकम बुझ्ने अपहरणकारी गुप्ताकी श्रीमती र बहिनीलाई पक्राउ गरिसकिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

‘अन्य धेरै कुरा खुल्न बाँकी छ । अनुसन्धानपछि सबै पाटा खुल्दै जान्छन्’–प्रहरी परिसरका प्रवक्ता बोगटीले भने ।

साँझ ५ः३० बजे प्रसुतिगृह काठमाडौंमा बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । उनको अवस्था सामान्य रहेको आमा बबिताले बताइन् ।

अपहरण मुद्दामा शुक्रबारै परिसरमा जाहेरी दरखास्त गर्न लागिएको बबिताले बताइन् । रासस