Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


कैलालीमा युवक हत्याकान्डमा थप एकजना समातिए


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, माघ ८ । कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा धारिलो हतियार प्रहार गरी २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय राजु कडायतलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई धनगढीको मुख्य बजारबाट पक्रेको प्रहरीले जनाएको छ ।

यसअघि, हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीनजना र अपराधी लुकाउन खोजेको भन्दै तीनजनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

यसरी पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका गोदावरी नगरपालिका–२, शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर छन् ।

यस्तै, गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय वीरेन्द्र शाह र सोही ठाउँ बस्ने २० वर्षीय प्रमेश मगरलाई पनि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्रेको हो ।

अपराधीलाई लुकाउन खोजेको आरोपमा पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३, शिवटोलका २१ वर्षीय लोकेश खत्री रहेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गएको शनिबार अत्तरियास्थित सुदूरपश्चिम प्रादेशिक महोत्सवको गेटअगाडि धारिलो हतियार प्रहारबाट गोदावरी–१ का अरुणको मृत्यु भएको थियो ।