Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’


0
Shares

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीकाअनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ । सुरुङको लम्बाइ चार हजार ७६ मिटर रहेको छ ।

सधैं विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री एको सुरुङ बिहीबार ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको कुल प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ ।

प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्षपहिल्यै सम्पन्न हुनुपर्ने थियो ।

भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण उठ्नै नसक्ने गरी प्रभावित भएको आयोजना चिनियाँ ठेकेदारले गत वैशाखदेखि युद्धस्तरमा काम गरेपछि सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए ।

उनले आयोजना एउटा लयमा फर्किएको र अरू कामसमेत यही तरिकाले अगाडि बढे आयोजनामा लामो समय नलाग्ने बताए ।

चीनको गेजुवा ग्रुप अफ कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । प्राधिकरणले नेपालमै पहिलोपटक सो निर्माण कम्पनीसँग इपीसी मोडलमा ठेक्का गरेको थियो ।

भूकम्पका कारण आयोजना निर्माण नगर्ने भन्दै पछाडि हटेको चिनियाँ ठेकेदारलाई सरकारले उच्च कूटनीतिक पहलमार्फत् निर्माणका लागि सहमत गराएको थियो ।

भूकम्पका कारण ठूला ढुंगा खस्दा ठेकेदारको रु एक अर्ब बराबरको क्षति पुगेको दाबी गरिएको छ ।

आयोजना प्रमुख जोशीले आयोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको बताए । उनले भौतिक निर्माणको काम ८२ प्रतिशतको हाराहारीमा पुगेको र त्यसले आयोजनालाई थप गति दिएको बताए ।

भूकम्पले आयोजनाको बाँधमा ठूलो क्षति पुर्‍याएका कारण त्यसलाई पुनः निर्माण तथा मर्मतका लागि निर्माण व्यवसायी र प्राधिकरणबीच सहमति भएको छ ।

पहुँचमार्ग निर्माणका लागि सरकारले नेपाली सेना परिचालन गरेको थियो । सो कार्यका लागिमात्रै रु ६१ करोड खर्च भएको थियो ।

तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणका लागि चौतर्फी पहल गरेका थिए ।

आयोजनाको भौतिक प्रगति राम्रो भएपनि त्रिशूली–काठमाडौं–मातातीर्थ १३२ केभी प्रसारणलाइन निर्माणमा भने केही समस्या रहँदै आएको छ । आयोजनामा पछिल्लोपटक सिमेन्टका कारण प्रभावित भएको छ ।

जग्गा प्राप्ति र मुआब्जा वितरणका विषयमा कुरा मिल्न नसक्दा प्रसारणलाइन निर्माणमा सम्स्या आएको आयोजनाले जनाएको छ ।

परियोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टले नापतौल तथा गुणस्तर विभागबाट गुणस्तर प्रमाणपत्र चिह्न लिनुपर्ने प्रावधान राखेका कारण सिमेन्ट अभाव हुन पुगेको छ । आयोजनालाई दैनिक १०० टन सिमेन्ट आवश्यक पर्दछ ।

यस्तै, आयोजनाबाट निकास भएको पानी प्रयोग गरेर ३७ मेगावाट क्षमताको त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ ।

सो आयोजनामा प्राधिकरण र नेपाल टेलिकमले संयुक्तरुपमा लगानी गर्न लागेका छन् ।