
गएको आइतबार साँझबाट जंगलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । अहिलेसम्म यो ७६ हजार हेक्टर जमीनमा डढेलो लागेको छ ।
यसअन्तर्गत जंगल, स्थानीय घर पसल तथा भवनका साथै, ठूलोमात्रामा क्यालिफोर्नियाको अंगुर खेती परेको छ । क्यालिफोर्नियालाई अंगुर र वाइनको सहर भनिन्छ ।
अधिकारीहरुले जनाएअनुसार यो डढेलोले स्थानीय नागरिकका घर तथा व्यापारिक भवनहरुगरी कम्तीमा पनि तीन हजार ५०० जलाएर खरानी बनाएको छ ।
गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको संख्या शुक्रबार बिहानसम्ममा ३१ पुगेको र अझै अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ ।
डढेलो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति हो भनेका छन् ।
बिहीबार पनि आगो नियन्त्रणका लागि ठूलो प्रयास भएको तर हावा चलेको र आगोको लप्पकाहरुका साथै तुवाँलो, हावाले उडाएको खरानी र धुवाँका कारण उद्वारका साथै आगो निभाउने काम गर्न नसकिएको बताएका छन् ।
करिब आठ हजार जना अग्नि नियन्त्रकले काम गरिरहेका छन् । तर, आगो नियन्त्रणको काम अत्यन्तै कठिन भइरहेको छ– अधिकारीहरुले जनाएका छन् ।
उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमा मात्र २० जनाको ज्यान गएको छ । त्यसैगरी, सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् ।
डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि ३० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।
हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । करिब ३० हजार जना घरबारबिहीन भएका छन् ।
पछिल्लो जानाकारीअनुसार अहिलेसम्ममा करिब ४०० जना स्थानीय नागरिक हराइरहेका छन् । तर, अधिकारीहरुले हराउने मानिसको तथ्यांक यो भन्दा सानो पनि हुन सक्ने भनेका छन् ।
किनभने कतिपय स्थानका हराइरहेका भनी आएको स्थानीयको तथ्यांक दोहोरिएकोले हराइरहेका व्यक्तिको संख्या घट्न पनि सक्ने उनीहरुको भनाई छ । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस्