एजेन्सी। विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् २०५० सम्म विश्वको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्म कम हुन सक्ने चेतावनी दिएको छ ।
डब्लूटीओले मंगलबार ‘विश्व व्यापार प्रतिवेदन २०२६ सार्वजनिक गर्दै विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरेकाे हाे। प्रतिवेदनमा विगतका ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको हाे।
बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् २०५० सम्म विश्वको जीडीपी २ दशमलव ९ प्रतिशत र निर्यात १७ दशमलव नौ प्रतिशतले बढ्न सक्ने अनुमान गरिएको छ । त्यसैगरी, बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू–राजनीतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी पाँच दशमलव एक प्रतिशत र निर्यात १८ दशमलव ६ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेखगरिएकाे हाे।
डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरले बलियो बहुपक्षीय सहकार्य र व्यापार प्रणाली कमजोर हुने अवस्थाबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्न सक्ने बताउनुभएकाे छ। प्रतिवेदनका अनुसार ८ दशक भन्दा लामो अवधिमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउन, विश्व व्यापारलाई करिब ५० गुणाले विस्तार गर्न तथा थप एकीकृत र नियममा आधारित विश्व अर्थतन्त्र निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको हाे ।
डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले पनि विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट–फेभर्ड–नेसन’ अर्थात सबैभन्दा बढी प्राथमिकता प्राप्त राष्ट्र व्यवस्था अन्तर्गत हुने गरेको बताउनुभएकाे छ।डब्लूटीओ सदस्य राष्ट्रहरूले सुधारका विषयमा सक्रिय रूपमा छलफल गरिरहेको र वर्तमान अवस्था यथावत राख्नु विकल्प नभएको बुझेको समेत उहाँले बताउनुभयो।









प्रतिक्रिया दिनुहोस्