२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विस्फोटक पदार्थ बरामद


0
Shares

प्रहरीले स्थानीय पदमबहादुर पाण्डेको घरबाट गए राति चारथान ‘डेटोनेटर’ र एकथान ‘फ्युज’सहित तार बरामद गरेको हो ।

‘डेटोनेटर’ र ‘फ्युज’ बरामद गर्नासाथ सोधपूछ गर्दा पाण्डेका ज्वाइँ पर्ने सोही नगरपालिका–१५ विजयखर्कका गणेश खनालले राखेको खुलासा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए ।

अहिले कारागारमा रहेका खनालले ससुरा पाण्डेसँगको रिसइबीमा उनलाई फसाउन उनको घरको कोठामा उक्त विस्फोटक पदार्थ लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।

ससुरा ज्वाइँको व्यक्तिगत रिसइबीमा खनालले पाण्डेलाई गत भदौ २५ गते खुकुरी प्रहार गरेका थिए । ज्वाइँको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पाण्डेले खनालविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेपछि उनले ससुराको घरमा बिस्फोटक पदार्थ लुकाएर राखिदिएको प्रहरीको अनुमान छ ।

खनालले २०६९ पुस १४ गते सोही नगरपालिका–१ दिक्तेलस्थित त्रिवेणी चोकका होटल व्यवसायी योगराज लुईंटेललाई मरणाशन्न हुने गरी कुटपिट गरेका थिए । लुईंटेललाई कुटपिट गर्नासाथ पक्राउ परेका खनाल अदालतको आदेशमा पाँच हजार धरौटी तिरेर तारेखमा छुटेका थिए ।

अनुसन्धानको घेरामा रहेका खनाललाई अदालतले २०७१ कातिक १८ गते चारवर्ष ११ महिना चार दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसलालगत्तै फरार रहेका खनालले पुनः गत भदौ २५ गते ससुरालाई मरणासन्न हुनेगरी कुटपिट गरेर फरार भएका थिए । उनलाई प्रहरीको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको थियो । रासस