३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सुनचाँदी व्यवसायी साहको हत्यामा संलग्न चार अभियुक्त पक्राउ


0
Shares

सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी २७ वर्षीय सुनचाँदी व्यापारी साहको हत्यामा संलग्नमध्ये चारजनालाई सार्वजनिक गरिएको हो ।

गत असोज २४ गते साँझ हरिपुर नगरपालिकामा पर्ने पिडारीबजारमा रहेको सुनचाँदी पसल बन्द गरेर बुवा नागेन्द्र साहसँगै पसलमा रहेका गरगहना लिइ कविलासी नगरपालिकामा पर्ने पिपरियामा रहेको घर फर्कनेक्रममा साहको गोली हानी हत्या गरिएको थियो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा सर्लाहीको बरहथवा नगरपालिका–१६ गंगापुरका–२३ वर्षीय कृष्ण साह, सोही ठाउँका २५ वर्षीय प्रभुनारायण महतो, कविलासी नगरपालिका–१ पिपरियाका २१ वर्षीय भोला मण्डल र लालबन्दी नगरपालिका–२ नेत्रगन्जका २७ वर्षीय जयप्रकाश पासवान पक्राउ परेका हुन् ।

घटनामा संलग्न अरु केही अभियुक्तहरु अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानकाक्रममा गरगहना लुट्ने उद्देश्यले व्यापारी साहको हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ ।

घटनामा लुटेराहरुले लुटेको सुनचाँदी र उनीहरुले प्रयोग गरेका हतियार बरामद हुन बाँकी रहेको डीएसपी थापाले बताए ।