
झापाको अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको शंकास्पद मृत्युलाई लिएर शुक्रबार स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएपछि बढेको तनावका कारण कर्फ्यु जारी गरिएको हो ।
आन्दोलनकारी र प्रहरीबीचको झडप हिंसात्मक हुँदै गएपछि स्थितिलाई सामान्यकीकरण गर्न स्थानीय प्रशासनले बिर्तामोड, मुक्तिचोकको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
शुक्रबार दिउँसो साढे १ बजेपछि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
प्रशासनले बिर्तामोड पूर्व बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने, उत्तरमा महानन्दचोक र दक्षिणमा बिर्ताबजारसम्मलाई निषेधित क्षेत्र घोषणा गर्दै कर्फ्यु लगाएको छ ।
यसअघि, शुक्रबार बालक लक्ष्मण ‘हत्या’को विरोधमा निकालिएको र्यालीमा झडप हुँदा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो । भीड नियन्त्रण गर्न प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।
प्रहरीले आन्दोलनमा उत्रिएकामध्ये केहीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बडादसैंको टीकाका दिन हराएका बालक लक्ष्मणको शव भोलिपल्ट बिर्तामोड–१ वैैसावाडीस्थित पोखरीमा डुबेको अवस्थामा फेलापरेको थियो ।
परिवारले लक्ष्मणको हत्याको आशंकामा तीनजनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।
प्रहरी अनुसन्धानप्रति रुस्ट भएका परिवार र स्थानीय आन्दोलनमा उत्रिएपछि बिर्तामोडको स्थिति तनावपूर्ण बनेको हो ।
प्रतिक्रिया दिनुहोस्