धादिङ बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन • Image Khabar Image Khabar


धादिङ बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार १५:१४

धादिङ बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

आइतबार गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।

समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सातदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिशूली नदीमा भएको बस दुर्घटनामा ठूलो संख्यामा हताहत भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको राष्टपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि दुर्घटनामा धेरैले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोडस्थित त्रिशुलि नदीमा शनिबार बस खस्दा ३१ जनाको मृत्यु भएको थियो । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलि नदीमा खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्