२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


हिरण्यवर्ण महाविहारमा शाक्यमुनि बुद्ध महास्नान र संघभोजन


0
Shares

प्रत्येक बर्ष कार्तिक कृष्णपक्ष दशमीको दिन महास्नान गरिन्छ । यस बर्ष नवमी पर दशमी परेकोले आजै महास्नान गरिएको विहारका सदस्य बेताजु चक्रराज बज्राचार्यले बताए ।

५ जना जेष्ठ आःजुहरुले चार वटा कलश पूजा गरी सोही कलशमा रहेको गाईको दूधले शाक्यमुनि बुद्धको महास्नान गरेका हुन् ।

शाक्यमुनि बुद्धको महास्नान लगत्तै यस मन्दिर अगाडी रहेको स्वयम्भु चैत्यको पनि महास्नान सम्पन्न गरिएको थियो ।

महास्नानको प्रक्रियामा सहभागीले नामसंगिती वाचन गर्ने चलन पनि रहेको यस प्रक्रियामा नामसंगिती विहारभित्रकै नामसंगिती देवस्थलमा पालो परेका ब्यक्तिले प्रसादका रुपमा खीर भोजन अर्पण गर्ने गर्दछ ।

यसपाली चित्रवीर बज्राचार्यले नामसंगितीको प्रसादका रुपमा खीर भोजन अर्पण गरेका छन् ।

महास्नानकै अवसरमा विहारका ३५०० सदस्यहरुलाई संघ भोजन गराउने चलन पनि रहेको छ ।

चुडाकर्म संस्कार सम्पन्न भइसकेका विहारका बज्राचार्य, शाक्य सदस्यहरु यस संघ भोजनमा सहभागी हुने गर्दछन् ।

संघभोजनमा सबैभन्दा पहिले च्याम्हथी आःजु र क्रमशः २५ जना आःजु, विहारको परिषद् (द्यःपाःलाः) सदस्य, धाःबाजा खलः (समूह) र त्यसपछि संघका सदस्यहरु बसी भोज ग्रहण गर्ने चलन रहेको छ ।

हिरण्यवर्ण महाविहारको शाक्यमुनि बुद्धको पुजारी पालो लिएको रोलक्रम अनुसार संघभोजनको आयोजना गर्ने जिम्मा दिइने चलन छ ।

यस बर्ष जोशीननि, नागबहालका कनकराज शाक्यको नेतृत्वमा संघभोजन आयोजना भएको हो ।

ने.सं. ११३४ को १२ महिनामा पुजारीको पालो लिएका १२ सदस्यहरुले संघभोजनको आयोजना गरेको हो ।

संघभोजन अघि शाक्यमुनि बुद्धको पूजा गरिनुका साथै बाजागाजा सहित नगर परिक्रमा गराउने चलन रहेको छ ।