१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उदयपुरमा जिप दुर्घटना, ९ जनाको मृत्यु


0
Shares

कटारीबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको ना१ज ३४०४ नम्बरको टाटासुमो जिप सोमबार दिउँसो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट खसेर दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतकमध्ये सातजनाको सनाखत भएको छ । मृतक सबै उदयपुरकै छन् ।

मृत्यु हुनेमा अन्जना राई, सन्दीप किराँती, जम्बर भट्टराई, नितेशकुमार साह, दीपक भित्रिकोटी, राजेन्द्र बर्मा र गाडीचालक कटारी–३ का हरि कार्की छन् । अरु दुईजनाको सनाखत हुन सकेको छैन ।

घाइते दुईजनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपमा कुल ११ जना सवार थिए ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा बढी लोड भएका कारण जिपले लोड तान्न नसक्दा पछाडि झरेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल कटारी बजारदेखि १३ किलोमिटर पश्चिम पहाडी क्षेत्रमा पर्दछ ।