
सहरी विकास तथा भवन निर्माण विभागले सोमबार ललितपुरमा गरेको कार्यक्रममा दिगो सहरी विकासको योजना नबन्दा सहर व्यवस्थित हुन नसकेको गुनासो गरिएको छ ।
कार्यक्रममा सहरी विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले सरकारले बाटो, भवन निर्माण गर्दा दृष्टिविहीन र शारीरिकरुपमा अपांगता भएका व्यक्तिकेन्द्रित बनाउन आग्रह गरिन् ।
उनले काठमाडौंमा धेरै पुल असुरक्षित भएको जानकारी हुँदाहुँदै पनि राज्यले ध्यान नदिनु दुःखद् भएको बताइन् ।
सहरी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सहरी व्यवस्थापनका लागि जनशक्तिको अभाव नभएको तर कर्मचारी व्यवस्थापन हुन नसक्दा समस्या बढेको बताए ।
सरकारले सहरी व्यवस्थापनका लागि यस आर्थिक वर्षमा ३५ अर्ब रुपैयाँ रकम विनियोजन गरेको छ भने हालसम्म जम्मा २ अर्ब रकममात्र स्थानीय तहमा पठाइएको छ ।
सहरी मन्त्रालयले कमजोर आयस्तर भएका व्यक्तिका लागि जनता आवासीय कार्यक्रमअन्तर्गत् यस वर्ष ७ हजार घर बनाउने योजना बनाएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
यस्तै, विपन्न समुदायका लागि काठमाडौंको इचंगुनारायणमा बनाइएको अपार्टमेन्ट भने विरोधका कारण बनाएको दुई वर्षसम्म पनि प्रयोगमा ल्याउन नसकिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्