रौतहटमा शिक्षकहरुको व्यापक सरुवा, सरुवामा आर्थिक चलखेलको आशंका • Image Khabar Image Khabar


रौतहटमा शिक्षकहरुको व्यापक सरुवा, सरुवामा आर्थिक चलखेलको आशंका


Imagekhabar
१४ कार्तिक २०७४, मंगलवार १३:५३

रौतहटमा शिक्षकहरुको व्यापक सरुवा, सरुवामा आर्थिक चलखेलको आशंका

जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहले आर्थिक लाभमा निर्वाचन आचारसंहिता लत्याउदै बितेको महिनाको मिति र दिन राख्दै ४८ जनाभन्दा बढी शिक्षकको सरुवा गरिसकेको खुल्न आएको छ ।

साउन १० गतेको मिति राखेर रौतहटको जोकहा प्राथमिक विद्यालयका राकेशकुमार ठाकुरको चलानी नम्बर ४४ राखेर जिल्लान्तर सरुवा गरेका छन् ।

तर, सोही नम्बरको पत्रबाट जिल्ला शिक्षा अधिकारी सिंहले राष्ट्रिय वाणिज्य बैंक, गौर शाखामा रहेको खाता नवीकरण गराएको कागजात फेला परेको छ ।

बैंकमा पठाइएको पत्रको चलानी नम्बर रहेको रजिस्ट्रर केरमेट गरेर उनले शिक्षक ठाकुरको सरुवा गरिएको लेखेका छन् ।

यस्तै, साउनकै मिति राखेर उनले शिक्षक जयबालक भगतलाई प्राथमिक विद्यालय रामपुरखापमा सरुवा गरेका छन् ।

साउनमा सरुवा भएको विवरण जिल्ला शिक्षा कार्यालयले देखाइरहँदा दुवै शिक्षक दशैं बिदापछि असोजमा विद्यालयमा हाजिर भएको पाइएको छ ।

जिल्ला शिक्षा अधिकारी राम बिनय सिहंले ब्यवहारिकतामा सरुवा गरेको बताए । जिल्लामा अनुमति प्राप्त सामुदायिक सिकाइ केन्द्रहरुको संख्या ४० रहेतापनि केही सञ्चालनमा छैनन् ।

तर, जिल्ला शिक्षा अधिकारी सिंह र अनौपचारिक शिक्षाका ‘फोकल पर्सन’ दुवैले सन्चालनमा नरहेका केन्द्रहरुका लागि पनि बजेट निकासा गरेका छन् ।

जिल्ला शिक्षा समितिको निर्णय बिनानै उनले यस वर्ष २१ वटा नयाँ संस्थागत विद्यालयलाई सञ्चालनको अनुमतिसमेत दिएका छन् ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ८ (ख) को उपनियम ३ अनुसार जिल्ला शिक्षा समितिको स्वीकृतिपछि मात्र नयाँ विद्यालयलाई अनुमती दिनु पर्ने प्रावधान रहेको छ ।

यस्तै, सर्वोच्च अदालत भदौ १८ गते अन्तरिम आदेश जारी गरेर रोक लगाएको दरबन्दी मिलानको विषयलाई पनि जिल्ला शिक्षा अधिकारी सिंहले बेवास्ता गर्दै धमाधम सरुवा गरेका हुन ।

 

प्रतिक्रिया दिनुहोस्