
काठमाडौं, पुस १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग छाडेर बंगलादेश आइपुगेका छन् ।
बंगलादेश प्रिमियर लिग (बीपीएल) ट्वेन्टी–२० क्रिकेट खेल्न उनी बुधबार बिहान बंगलादेश पुगेका हुन् ।
अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट बिग बास खेल्नेक्रममा लेग स्पीनर सन्दीपले चार खेल खेल्दै ८ विकेट लिएका थिए ।
उनले हरेक खेलमा कम्तीमा विपक्षी टिमका कप्तानलाई आउट गरेका थिए ।
सन्दीपले सिलेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्नेछन् । उक्त टिमको कप्तानी डेभिड वार्नरले सम्हालेका छन् ।
बीपीएल क्रिकेट आगामी शनिबारदेखि सुरु हुनेछ ।
सन्दीपको सिलेटले आइतबार कोमिला भिक्टोरियन्ससँग पहिलो खेल खेल्नेछ ।
बंगलादेश प्रिमियर लिग जारी रहँदै सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् ।
नेपालले आगामी माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एकदिवसीय र ट्वेन्टी–२० शृंखला खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्