गिद्ध संरक्षण गर्न सिन्धुलीमा नौलो अभियान सुरु • Image Khabar Image Khabar


गिद्ध संरक्षण गर्न सिन्धुलीमा नौलो अभियान सुरु


Imagekhabar
१६ असार २०७५, शनिबार ००:४८

गिद्ध संरक्षण गर्न सिन्धुलीमा नौलो अभियान सुरु

सिन्धुली, असार १६ । प्राकृतिक वातावरणको कुचिकारका रुपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले सिन्धुलीलाई डाईक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालय र नेपाल पंक्षी संरक्षण संघको आयोजनामा सदरमुकाम सिन्धुलीमाडीमा गरिएको कार्यक्रममा सिन्धुलीमा पशुपंक्षीलाई दुखाई कम गर्न दिईने डाईक्लोफेनेक औषधि प्रयोग तथा वितरणमा प्रतिबन्ध लगाइएको हो ।

डाईक्लोफेनेक औषधिको प्रयोगबाट मरेका पशुपंक्षी गिद्धले खाँदा गिद्ध नै मर्ने भएपछि यसअघि देशका साठीभन्दा बढी जिल्ला डाईक्लोफेनेक मुक्त घोषणा गरिइसकिएका छन् ।

आफैं शिकार नगर्ने तर मरे सडेगलेका सिनो खाने गिद्धले बातावरणलाई प्रदुषित र दुर्गन्धित हुनबाट बचाउँछ ।

यसबाट हैजा, रेबिज, प्लेग, एन्थ्राक्स जस्ता महामारी निम्त्याउने रोग फैलन दिँदैन ।

गिद्ध मृत्युको प्रमुख कारण डाईक्लोफेनेक भएको प्रमाणित भएपछि औषधि ब्यवस्था विभागले २०६३ साल जेष्ठ २३ गतेदेखि पशु उपचारमा प्रयोग हुने डाईक्लोफेनेकको उत्पादन, बिक्री र आयातमा रोक लगाएको छ ।

सरकारको आदेश अन्यथा गरी डाईक्लोफेनेकको प्रयोग गरेमा तीन बर्ष कैद वा २५ हजार रुपैयाँ जरिवाना वा दुबै सजायँ हुने कानुनी ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्