
नौसेनाका प्रवक्ता इनरिके बाल्बीले व्यापक प्रयास गरिए पनि उक्त पनडुब्बी कहाँ हराएको छ भनेर पत्ता लगाउन सम्भव नभएको जानकारी दिए । पनडुब्बी एआरए सान जुआनले अन्तिमपटक नोभेम्बर १५ तारिखका दिन सम्पर्क गरेको थियो ।
अन्तिमपटक सम्पर्कमा आएको ठाउँ नजिकै एउटा शंकास्पद विस्फोट भएपछि उक्त पनडुब्बीमा जीवित कोहि होला भन्ने आशा कमजोर बनेको थियो । क्याप्टेन इनरिके बाल्बीले चालक दलको उद्धार गर्ने सम्भावना रहेको समयभन्दा दोब्बर बढाउँदा पनि उपलब्धि हात नलागेको बताए ।
उनले अब उद्धार तथा खोजको चरण बदलिएको भन्दै सान जुआन हराएको ठानिएको क्षेत्रमा अन्य पानीजहाज र पनडुब्बीहरुको प्रयोग गरेर जहाजका टुक्राटाक्री खोज्न केन्द्रित हुने जनाए । सान जुआनमा विस्फोट भएको शंका गरिएको खबर गत साता उक्त पनडुब्बीमा सवार चालकदलका आफन्तहरुलाई दिइएको थियो ।
नौसेनाको मर डे प्लाटा अखडामा भेला भएका आफन्तहरुले त्यसको प्रतिक्रियामा पीडा र आक्रोश व्यक्त गरेका थिए । परिवारका सदस्यहरुले नौसेनाले आफूहरुसँग झुटो बोलेको र गलत आशा देखाएको आरोप लगाएका थिए ।
उक्त पनडुब्बीको खोजी कार्यका लागि अन्तर्राष्ट्रिय रुपमा एक दर्जनभन्दा बढी देशका ४ हजार मानिस खटिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्