Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


पाकिस्तानमा बस दुर्घटना: मृतककाे संख्या ४० पुग्याे, ८ जना घाइते


0
Shares

एजेन्सी। पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार बिहान भएकाे बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ ।

यात्रु बोकेको बस भीरकाे खाेंचमा खस्दा ८ जना घाइते भएका हुन् । प्रहरी अधिकारी अली रजाले समाचार एजेन्सी डीपीएलाई दिएको जानकारी अनुसार उक्त बस क्वेटाबाट पेशावरतर्फ जाँदै थियो । यात्रा शुरु गरेको करिब आधा दूरी पार गरेपछि बस दाना सरको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।

समाचार एजेन्सी एपीले बसमा क्षमता भन्दा बढी यात्रु सवार भएकाे र तीव्र गतिमा गुडिरहेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको जनाएकाे छ । सरकारका प्रवक्ता शाहिद रिन्दले दुर्घटनाग्रस्त बसले बाटोमै बिग्रिएको अर्को बसका यात्रुहरूलाई समेत चढाइएको जानकारी दिनुभयाे । मृतकहरूको पहिचान खुलाउने प्रयास जारी रहेकाे बताउनुभएकाे छ।

उद्धार विभागका प्रवक्ता फजल दिनले डीपीएसँग कुरा गर्दै भीरबाट गहिरो खोँचमा खसेका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताउनुभयाे। प्रवक्ता दिनले घाइतेको अवस्था अझै गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने आशंका व्यक्त गर्नुभएकाे छ।