Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


सानिमा बैंकद्वारा भारत-नेपाल रियल टाइम पीटुपी भुक्तानी सेवा सुरु


221
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा भारत-नेपाल रियल टाइम पर्सन-टु-पर्सन (P2P) भुक्तानी सेवाको सुरुवात गरेको छ।

यस नयाँ सेवाको माध्यमबाट दुई देशबीच सुरक्षित, तत्काल र कम लागतमा रकम स्थानान्तरण गर्न सम्भव भएको बैंकले जनाएको छ।

यस सेवा अन्तर्गत भारत तथा नेपालका प्रयोगकर्ताहरूले आफ्नो बैंक खाताको विस्तृत विवरण कसैलाई साझा नगरीकनै Virtual Payment Address (VPA) र UPI ID को प्रयोग गरेर सहजै रकम पठाउन र प्राप्त गर्न सक्नेछन्।

नयाँ व्यवस्था अनुसार नेपाली प्रयोगकर्ताहरूले VPA मार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताहरूले UPI ID को प्रयोग गरी नेपालमा रकम पठाउन वा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ, जसले सीमापार भुक्तानी प्रक्रियालाई थप सरल र सुरक्षित बनाएको छ।

बैंकका अनुसार यो सुविधा विशेष गरी भारत र नेपालबीच नियमित आवतजावत गर्ने विद्यार्थी, विभिन्न पेसामा आबद्ध व्यक्तिहरू, पर्यटक तथा पारिवारिक रूपमा रेमिट्यान्समा निर्भर रहेका नागरिकहरूका लागि परम्परागत माध्यमको तुलनामा एक आधुनिक र प्रभावकारी विकल्प सावित हुनेछ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा रहेका आफ्ना १३४ शाखा कार्यालय र १२७ वटा एटीएम मार्फत ग्राहकहरूलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।