
गोरखा, पुस ९ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जंगलमा आइतबार रातिदेखि भीषण आगोलागी भएको छ ।
सामागाउँको मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने जंगलमा राति करिब १ बजेदेखि सुरु भएको आगोलागी निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि अहिलेसम्म नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए ।
पर्यटक लिएर मनास्लु बेसक्याम्पतर्फ गएका गाइडले खाएर फालेको चुरोटको ठूटोबाट आगोलागी सुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताए ।
‘अहिले पनि आगो नियन्त्रणको प्रयास गरिरहेका छौं । तर, कतिबेलासम्म नियन्त्रण हुने हो भन्न सकिएको छैन’–उनले भने–‘अहिलेसम्म कति क्षेत्रफल जंगलमा आगोलागी भयो भन्नेबारे पनि यकिन गर्न सकिएको छैन ।’
आगोलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्