
प्रकाश धौलाकोटी
तेह्रथुम, पुस ६ । तेह्रथुम जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ । साँघुरो ठाउँमा धेरैजना कोचाकोच गरेर बस्नुपर्दा समस्या भइरहे पनि सम्बन्धित निकायले भने बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ ।
उसै त जीर्ण भवन, त्यसमा पनि खचाखच कैदीबन्दी राखिँदा खान, बस्न र सुत्नका लागि असहज भइरहेको छ । २५ जना पुरुष र १० जना महिला गरी ३५ जना क्षमताको कारागारमा अहिले कैदी, बन्दी र थुनुवा गरी ९० जना राखिएका छन् । धेरैजना साँघुरो ठाउँमा कोचाकोच गरी बस्दा पानी, शौचालय र सुत्नकालागि समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ ।
०२८ सालमा निर्माण भएको कारागार भवन भूकम्पपछि झन् जीर्ण बनेको छ । कैदीबन्दी मात्रै हैन, सुरक्षाकर्मीहरु समेत जीर्ण भवनमा बसेर काम जोखिम भइरहेको गुनासो गर्दछन् । साँघुरो भवनमा धेरै कैदीबन्दी राख्दा प्रशासनलाई पनि व्यवस्थापन गर्न हम्मेहम्मे परेको कारागारका जेलर तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रभात घिमिरे बताउँछन् ।
उसो त कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई यहाँका समस्याबारे पटकपटक जानकारी नगराएको पनि होइन तर, त्यसबारे कुनै पहल भएको अनुभूति छैन । एकातिर धेरै कैदी र अर्कोतिर भवन निर्माणका लागि जग्गाको समेत अभाव भएका कारण थप समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।
गल्ती गर्नेहरुलाई कारबाहीमा कुनै कसर बाँकी हुनुहुँदैन, तर त्यसको साथसाथै कारागारका कैदीलाई पनि मानव अधिकारको प्रत्याभूति भने गराउनैपर्छ । उनीहरुलाई पनि मानवीय व्यवहार गरेर सुधार्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्