Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार


0
Shares

कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त ठहर भइ फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी चौधरी निर्वाचन अधिकृतले वारेसमार्फत् विजयी भएको प्रमाणपत्र नदिएपछि अदालत पुगेका थिए ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले दर्ता गर्न नमिल्ने (दरपीठ) गरेको आदेशमा ‘कर्तव्य ज्यान मुद्दामा अदालतबाट ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने’ उल्लेख छ ।

चौधरीले फरार अवस्थामा वारेसनामार्फत् उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैं उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

विजयको प्रमाणपत्र नपाएपछि चौधरीले वारेसमार्फत् दर्ता गर्न ल्याएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरिएको हो ।

‘कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतमा अदालतमा मुद्दा विचाराधीन रहेको र उक्त मुद्दालाई स्वीकार गरी अदालतमा उपस्थितसमेत नभएको व्यक्तिको हकमा सर्वोच्चमा निवेदन दर्ता गर्न मिल्ने देखिँदैन’–दरपीठ आदेशमा भनिएको छ ।

टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनकाक्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।

सो घटनाका अभियुक्त चौधरी फरार अवस्थामा छन् । रासस