Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


भैरहवाको लगातार दोस्रो जित, काठमाडौंले चितवनलाई हरायो


0
Shares

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । भैरहवाले यसअघि काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।

भारतीय खेलाडी योगेश नागरले ५४ तथा कप्तान ज्ञानेन्द्र मल्लले ४२ रन बनाएको इनिङ्समा दीपेश श्रेष्ठले ३ तथा आरिफ शेख र भारतीय खेलाडी पुनित मिश्राले समान २/२ विकेट लिए ।

जवाफमा भैरहवाले अन्तिम बलमा जित हासिल गर्नेक्रममा ६ विकेट गुमाएको थियो । ‘म्यान अफ द म्याच’ घोषित पुनित विष्टले ५०, रोहितकुमार पौडेलले ११ बलमा ३१ तथा आरिफले २७ रन बनाए ।

त्यस्तै, काठमाडौं किंग्स इलेभेनले तेस्रो भिडन्तमा पहिलो जित हासिल गरेको छ ।

बिहीबारै भएको दोस्रो खेलमा काठमाडौंले चितवन टाइगर्सलाई ३ विकेटले हराएको हो ।

चितवनले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । दिलीप नाथले ४६ रन बनाएको इनिङ्समा कप्तान श्रीलंकाका खेलाडी फर्भेज महारुफले ३ विकेट लिए ।

जवाफमा काठमाडौंले १८ ओभर ४ बलमा ७ विकेटको क्षतिमा जित हासिल गर्‍यो । ‘म्यान अफ द म्याच’ घोषित महारुफले ३९ तथा अमित श्रेष्ठले ३८ रनको योगदान दिए ।

लिगमा भैरहवा र विराटनगर वारियर्स शतप्रतिशत नतिजाका साथ समान ४/४ अंक बटुल्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रतियोगिताअन्तर्गत् शुक्रबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा पोखरा राइनोज र काठमाडौं तथा दोस्रो खेलमा चितवन र विराटनगर भिड्नेछन् ।