Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन् । उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन् ।

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए । उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गरे ।

“फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ । यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन”, ट्रम्पले भने । उनले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको दाबी गरे ।

ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताए । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उनको भनाइ थियो । फ्रान्सले ऊर्जा क्षेत्रमा पनि केही समस्या भोगिरहेको उल्लेख गर्दै उनले अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको दाबी गरे ।

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताए । “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ”, उनले भने । आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उनको दाबी थियो ।

फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिलाई पनि ट्रम्पले आप्रवासनसँग जोड्नुभयो । उनले ती देशमा भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिहरूका कारण समस्या बढेको दाबी गर्दै सीमा बन्द गर्न र त्यस्ता व्यक्तिहरूलाई निष्कासन गर्न आग्रह गरे ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गरेको सन्दर्भमा ट्रम्पको टिप्पणी आएको हो ।

यसैबीच, बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । उक्त घटनापछि ट्रम्पले फ्रान्सको आप्रवासन नीतिको आलोचना गर्दै आफ्नो धारणा दोहोर्‍याएका छन् ।

Skip This