
अपराजित रहँदै शीर्ष स्थानमा रहनेक्रममा विराटनगरले शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हरायो ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ८ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
हङकङका खेलाडीद्वय बाबर हयात र अंशुमन रथले शतकीय साझेदारी गर्नेक्रममा ४२ बल खेलेका बाबरले ६ छक्का र ५ चौकाको मद्दतले ८१ रन जोडे । अंशुमनले ४० बलमा ४१ रन जोड्दा कप्तान पारस खड्काले ८ बलमा १६ रनको योगदान गरे ।
बलिङतर्फ चितवनका प्रविन गुप्ताले ह्याट्रिकसहित ५ विकेट लिए ।
जवाफमा लगातार तेस्रो हार व्यहोर्दै पुछारमा रहनेक्रममा चितवनले १८ ओभर २ बल क्रिजमा टिकेर १०३ रनमात्र बनाउन सक्यो ।
भीम सार्कीले सर्वाधिक २४ रन बनाएको इनिङ्समा विराटनगरका बसन्त रेग्मीले ११ रन खर्चेर ४ विकेट लिए ।
शुक्रबारै भएको पहिलो खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलेभेनलाई ६ विकेटले हरायो ।
काठमाडौंले दिएको ९९ रनको सामान्य चुनौती पोखराले खेलमा १० बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।
पोखराको जितमा इसरुल्लाहले अविजित ४५ रन बनाए भने सुनील धमलाले २० तथा शक्ति गौचनले अविजित १८ रन जोडे । काठमाडौंका सागर पुनले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाएर ९८ रन जोडेको थियो । सागर पुनले ३६ रन जोडेको इनिङ्समा विक्रम सोब, सुशन भारी र कप्तान शक्ति गौचनले २/२ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत् शनिबार विराटनगर र अर्को अपराजित टिम भैरहवा ग्लाडिएटर्स तथा ललितपुर प्याट्रिएट्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्