कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरले काठमाडौंलाई ८ रनको झिनो अन्तरले पराजित गरेको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
त्यस्तै, एक खेलमात्र जितेको काठमाडौं प्रतियोगिताबाट बाहिरियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले काठमाडौंलाई १४८ रनको चुनौती दिएको थियो ।
जवाफमा काठमाडौं निर्धारित् २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।
विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रनको योगफल तयार गरेको थियो । विराटनगरका लागि बाबर हायातले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै, अंशुमन रथ ३२, कप्तान पारस खड्का २६, अनिल शाह ९ तथा करण केसीले ५ रन जोडे ।
काठमाडौंका सोमपाल कामी र अमरसिंह राउटेलाले समान २/२ विकेट लिए भने कप्तान फरवेज महारुफ र जितेन्द्र मुखियाले समान १/१ विकेट झारे ।
काठमाडौंका लागि कप्तान फरवेज महारुफले सर्वाधिक ४२ रनको योगदान दिए । त्यसैगरी, नरेश बुढाऐर ३०, सुरुआती ब्याट्सम्यान अमित श्रेष्ठ १७, सिद्धान्त लोहनी १५, सागर पुन १३ तथा सागर कुमारले १२ रन जोडे ।
विराटनगरका अंशुमन रथले ३ विकेट लिँदा वसन्त रेग्मी र रामनरेश गिरीले समान २/२ विकेट लिए । त्यस्तै, करन केसी र पारस खड्काले १/१ विकेट लिए ।
विराटनगरका अंशुमन रथ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले रु १० हजार प्राप्त गरे । रासस









प्रतिक्रिया दिनुहोस्