१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


खप्तड गोल्डकपमा १२ टिम, विजेतालाई ११ लाख


0
Shares

सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले यही पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगिताका लागि तयारी सुरु गरिएको सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जनाइएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १२ ओटा टिमको सहभागिता रहने सो अवसरमा जानकारी दिइयो ।

प्रतियोगितामा मनाङ–मर्स्याङ्दी क्लब, संकटा, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ क्लब, सहारा क्लब पोखरा, रुपन्देही–११, सुदूरपश्चिम–११, झापा–११, धरान फुटबल क्लब, डुक स्टार फुटबल क्लब भुटान र च्यासल युथ क्लब ललितपुरको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

गत वर्ष पहिलोपटक आयोजित गोल्डकपको पुरस्कार राशी ५ लाख ५५ हजार ५५५ रुपैयाँ रहेको थियो । दोस्रो संस्करणमा पुरस्कार राशी दोब्बरले बढाइएको छ ।