६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजासहित १० अंकका साथ विराटनगर वारियर्स शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुग्यो ।
त्यस्तै, भैरहवा ग्लाडिएटर्स ८ अंकसहित दोस्रो हुँदै क्वालिफायरका लागि छनोट भएको छ ।
४/४ अंकका साथ तेस्रो र चौथो भएका ललितपुर पेट्रिअट्स र पोखरा राइनोज् प्लेअफमा छनोट भएका छन् ।
काठमाडौं किङ्स इलेभेन र चितवन टाइगर्स समान २/२ अंकका साथ बाहिरिएका छन् ।
छनोटको खेलमा मंगलबार भैरहवाले चितवनलाई ४ विकेटले हरायो । पहिले ब्याटिङ गरेको चितवनले निर्धारित् २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रनमात्र बनाएको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५/१५ रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा भैरहवाका कप्तान शरद भेषावकरले ३ विकेट लिए । त्यसैगरी, भुवन कार्की र हरिशंकर शाहले २/२ विकेट लिए ।
जवाफमा भैरहवाले १८ ओभर ३ बलमै ६ विकेट गुमाएर चुनौती पूरा गर्यो । पुनित मिश्रले ३० तथा रोहितकुमार पौडेलले २० रन जोडे । दीपेन्द्र र शहाव आलमले २/२ विकेट लिए ।
मंगलबारै भएको छनोटको अन्तिम खेलमा ललितपुरले पोखरालाई ६ विकेटले हरायो ।
पोखराले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा निर्धारित् २० ओभरमा १३२ रन बनायो । सुनील धमलाले ६२ बलमा अविजित रहँदै ७० तथा राजेश पुलामीमगरले ३२ रन जोडे ।
जवाफमा ललितपुरले ‘म्यान अफ द म्याच’ भारतीय खेलाडी जयकिशन कोल्सावालाको ५५ रनको मद्दतले ४ विकेटको क्षतिमा अन्तिम बलमा विजय हासिल गर्यो ।
शंकर रानाले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा अविजित रहँदै २७ रनको योगदान दिए ।
पहिलो क्वालिफायर खेलमा बुधबार बिहान विराटनगर र भैरहवा भिड्दैछन् । विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले पोखरा र ललितपुरबीच इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटर खेल पनि बुधबार नै हुनेछ ।









प्रतिक्रिया दिनुहोस्