Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


विराटनगर फाइनलमा, पोखरालाई हराउँदै ललितपुर क्वालिफायरमा


0
Shares

बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो क्वालिफायर खेलमा भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो ।

भैरहवाले दिएको १२८ रनको चुनौती विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

‘म्यान अफ द म्याच’ घोषित हङकङका खेलाडी बाबर हयातले ४४ बलमा ६२ रन बनाए । त्यसैगरी, कप्तान पारस खड्काले २४ बलमा अविजित रहँदै ४२ रन बनाए ।

यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । भारतीय खेलाडी पुनित मिश्राले ३४ बलमा ४९ तथा आरिफ शेखले ३५ बलमा ४६ रन जोडे ।

विराटनगरका लागि करण केसी र श्रीलंकाका खेलाडी सहान अपुहामीले समान २/२ विकेट लिए ।

पराजित भैरहवाले फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिएट्ससँग खेल्नेछ ।

बुधबारै भएको इलिमिनेटर खेलमा ललितपुरले पोखरा राइनोज्माथि २७ रनको सहज जित हासिल गर्‍यो ।

पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेटको क्षतिमा १३८ रन बनाएको थियो । भारतीय खेलाडी सन्नी पटेलले २६ बलमा अविजित रहँदै ३८ तथा शंकर रानाले ३४ रन बनाए ।

पोखराका लागि पाकिस्तानी खेलाडी इसरुल्लाहले ३ तथा सुसन भारीले २ विकेट लिए ।

जवाफमा कमजोर प्रदर्शन गरेको पोखराले १९ ओभर १ बल क्रिजमा टिकेर १११ रनमात्र बनाउन सक्यो ।

अलराउन्डर इसरुल्लाहले २२ बलमा २५ तथा किशोर महतोले १३ बलमा २३ रन जोडे ।

ललितपुरका लागि सन्दीप लामिछानेले ३ तथा पवन सर्राफ, रशिद खान र सन्नी पटेलले समान २/२ विकेट लिए । यो हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ ।

६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा चितवन टाइगर्स र काठमाडौं किंग्स इलेभेन समूह चरणबाटै बाहिरिएका थिए ।

फाइनल खेल आगामी शनिबार हुनेछ ।