भैरहवा फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त • Image Khabar Image Khabar


भैरहवा फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त


Imagekhabar
१३ पुष २०७४, बिहीबार १५:२७

भैरहवा फाइनलमा, विराटनगरसँग उपाधि भिडन्त

बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइनलमा पुगेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित् २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।

भारतीय खेलाडी जयकिसन कोल्सावालाले ४२, भारतकै सन्नी पटेलले २४, दिपेश भण्डारीले २२ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे ।

भैरहवाका लागि भारतकै पुनित मिश्राले २ तथा भुवन कार्की, हरिशंकर शाह र आरिफ शेखले १/१ विकेट लिए ।

जवाफमा भैरहवाले १९ ओभर ३ बलमा ७ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।

भारतीय खेलाडी प्रथम सालुंकेले सर्वाधिक ३२ तथा ‘म्यान अफ द म्याच’ घोषित रोहितकुमार पौडेलले १७ बलमा अविजित रहँदै दुई छक्काको मद्दतले २८ रन जोडे ।

ललितपुरका लागि ललित राजबंशी र पवन सर्राफले २/२ विकेट लिए ।

समूह चरणको खेलमा पनि भैरहवाले ललितपुरलाई पराजित गरेको थियो ।

भैरहवाले अब उपाधिका लागि फाइनलमा शनिबार विराटनगर वारियर्सको सामना गर्नेछ ।

शरद भेषावकरको भैरहवाले यसअघिको क्वालिफायर र समूह चरणको खेलमा पारस खड्का नेतृत्वको विराटनगरसँग पराजय भोगेको थियो ।

भैरहवा बदलासहित उपाधि जित्न चाहन्छ भने विराटनगर विजयी भए एउटै प्रतियोगितामा एकै टिममाथि ‘ह्याट्रिक’ जितसहित उपाधि जितको कीर्तिमान बनाउनेछ ।

६ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्