
सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि डा. केसीले अनशन सुरु गरेका हुन् ।
त्रिवि शिक्षण अस्पताल परिसरमै अनशन सुरु गरेका डा. केसीले प्रधानन्यायाधीश पराजुली ‘भ्रष्ट र माफिया’ भएको आरोप लगाए ।
डा. केसीले नेपालका न्यायालयहरु न्याय दिनेभन्दा पनि न्याय किनबेच गर्ने, भ्रष्ट र अपराधीहरुलाई संरक्षण दिने तथा इमान्दारहरुलाई दन्डित गर्ने गिरोहको नियन्त्रणमा रहेको आरोपसमेत लगाएका छन् ।
न्यायाधीशहरुले न्यायालयलाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै डा. केसीले न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट र माफिया प्रधानन्यायाधीश पराजुलीविरुद्ध लड्नुको विकल्प नभएको जिकिर गरे ।
डा. केसीले आफ्ना मागहरुमध्ये प्रधानन्यायाधीश पराजुलीको राजीनामालाई मुख्य बुँदा बनाएका छन् । उनले पराजुलीमाथि छानबिन र कारबाहीको मागसमेत गरेका छन् ।
यस्तै, आइओएमको डीनमा डा. जगदीश अग्रवाल नै कायम रहनुपर्ने, चिकित्सा शिक्षा आयोग गठन हुनुपर्ने, डा. शर्मा तथा त्रिविका पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने माग पनि उनका रहेका छन् ।
सर्वोच्च अदालतले पुनर्बहालीका लागि आदेश दिएका डा. शशी शर्माको पदावधि सकिन तीन दिन मात्र बाँकी छ । उनको चार वर्षे कार्यकाल यही पुस २७ गते सकिँदैछ ।
सर्वोच्चको आदेशमा आइएमओका वर्तमान डीन डा. जगदीश अग्रवालको नियुक्ति पनि गैरकानुनी हो भनेर पुष्टि गर्ने आधार नभएको पनि उल्लेख छ ।
आदेशअनुसार तीन दिनसम्म डा. शर्मा र डा. अग्रवाल दुवैजना आइओएमका डीन रहनेछन् ।
डा. केसीको यो १४औंपटकको अनशन हो । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै डा. केसी यसअघि १३ पटक अनशन बसिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्