Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त


273
Shares

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. सुधा बस्नेत नियुक्त भएकी छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गरेकी हुन्।

परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। त्यसैगरी सदस्यहरूमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत भट्टराई र डा. रबा थापा नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष डा. बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छिन्। उनी वरिष्ठ बालरोग विशेषज्ञ, प्राध्यापक तथा स्वास्थ्य अनुसन्धानकर्ताका रूपमा परिचित छन्।

उनले भारतको युनिभर्सिटी अफ कलकत्ताबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालयबाट बालरोग विषयमा एमडी तथा नर्वेको युनिभर्सिटी अफ बर्गेनस्थित सेन्टर फर इन्टरनेसनल हेल्थबाट पीएचडी उपाधि हासिल गरेकी हुन्।

यसैगरी, नवनियुक्त उपाध्यक्ष डा. महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन्। उनले एमडी (क्लिनिकल फिजियोलोजी), एमबीबीएस तथा जनरल मेडिसिनमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन्। साथै, उनले यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नैतिक समीक्षा समिति (एथिकल बोर्ड) मा रहेर स्वास्थ्य अनुसन्धानसम्बन्धी विभिन्न कार्यमा योगदान दिएका छन्।

स्वास्थ्य मन्त्रीको सचिवालयका अनुसार नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भइसकेको छ। नयाँ नेतृत्वले स्वास्थ्य अनुसन्धानलाई थप प्रभावकारी, गुणस्तरीय र प्रमाणमा आधारित बनाउँदै अनुसन्धानका उपलब्धिलाई स्वास्थ्य नीति निर्माण तथा स्वास्थ्य सेवासँग जोड्ने अपेक्षा गरिएको सचिवालयले जनाएको छ।